बिजारे पाटनको मनोहारी प्रकृतिले पर्यटक बोलाउँदैछ

जितेन्द्र थापा । दिउँसो परेको पानीले खुलेको खुल्ला आकाश । वरिपरि हरियाली वातावरणको बीचमा भकुण्डो आकारको मनै लोभ्याउने बिजारे ताल । मौसम सफा भएको दिन वरपरको वातावरणमा प्रकृतिका मनमोहक दृश्य देख्न पाइन्छ । बसन्त ऋतुमा मनलाई चङ्गा झै उडाएर सुन्दर रमणीय ठाउँसम्म पुर्याउँछ । यहाँको पाटनले जो कोहीको मन पनि लोभ्याउँछ । गुन्यु चोलीमा सजिएकी युवती साँझ विहान घाँस दाउरा काट्न जाँदा र फर्किंदा लागेको लस्करले पाटनलाई झनै मनमोहक बनाउँछ । त्यही पाटनकाबीचमा एउटा आर्कषक, सुन्दर भकुण्डो आकारको बिजारे ताल छ । यहाँ आन्तरिक पर्यटक मनमोहक दृश्य हेर्नलाई दैनिकजसो पुग्छन् । कोही वर्षौदेखि आफ्ना हितैषी मित्रसँग भेटिँदाका अन्तर हृदयका गुम्सिएका कुरा फुकाउन पाटनमा बसेर मस्तले गफिन्छन् । गाई चराउने गोठाला केटाकेटीहरु विभिन्न खेल खेलेर पाटनमा रमाउँछन् । महिला पुरुष एकान्त ठाउँमा आफ्ना बेदना दुःख गाउन कानमा औँला राख्दै मधुर लयमा विगतलाई स्परण गर्दै ठाडी भाका गाउँछन् । बिजारे क्षेत्र, छ नै त्यस्तो । यसले जो कोहीलाई मोहनी लगाई छाड्छ । दैलेखको ठाटीकाँध गाउँपालिका २मा अवस्थित बिजारेचौर पर्यटकीय सम्भावना भएको क्ष...