कर्णालीका कपडाका दुःख, जोगाउने पो कसरी?

 


जितेन्द्र थापा 

दुल्लु राम्रा पञ्चदेवल मेरी लै लै दैलेख राम्रा गढी साली सम्झिन्छौँ कि कहिलै ?

कर्णालीको पहिचान झल्काउने ठाडी भाका। यही भाकामा आफ्नो बालापनको बह पोख्दै हुनहुन्छ गायक शेरबहादुर खड्का। विसं २०२० कार्तिक १९ गते दैलेखको दुल्लु नगरपालिकामा जन्मिनुभएका शेरबहादुर उमेरले ६० वर्ष लाग्नुभयो। सुर्खेतको वीरेन्द्रनगर–४ स्थित भैरवस्थानको एउटा सुनसान कोठाभित्र तानमा कपडा बुन्न व्यस्त शेरबहादुर दैलेखी लोक देउडा गुनगुनाउदै हुनुहुन्थ्यो।

झट्ट सुन्दा यी शब्द बुझिँदैन। शब्दले के भन्न खोजेको होला भन्ने लाग्छ। तर सुनिरहँदा भने मन्त्रमुग्ध बनाउँछ। गीतमा दैलेखको दुल्लुस्थित पञ्चदेवल र दैलेखकै गढीलाई जोडिएको छ। गायक खड्काले दुल्लु राम्रा पञ्चदेवल, दैलेख गढी र सालीलाई सम्झन्छौ कि कहिलेकाहीँ भन्ने दैलेखको पहिचानलाई जोडेर गीत सिर्जना गरेको बताउनुहुन्छ।

मातृभूमिप्रति समर्पित जौ बाली जौका, दुःख बिसाउने, चरिअ, चिर्के रुमाल, सुनमाया, सुन माया, दुल्लु राम्णा पञ्चदेवल लै लै डेढ सयभन्दा बढी गीत गाउनुभएका खड्काको अटुट साइनो गीतसँगसँगै तानसँग पनि  छ। दिनभरिको कामलाई थाँती राख्दै खड्का बालापन र युवावयमा फर्कंदै सालीलाई सम्झिँदै गीत गाउनुहुन्छ –

आफ्नै देश रमाइलो हुन्छ मेरी लै लै

नजाऊ मैनाचरी लै लै

साली सम्झिन्छौँ कि कहिलेकाहीँ

‘लोक देउडा भनेको हाम्रा आफ्ना मातृ भाषा र आफ्नोपनजस्तो लाग्छ,’ उमेरसँगै गालामा बुढ्यौलीका रेखा कोरिएका खड्का भन्नुहुन्छ, ‘दिनभरिका दुःखको भारी यसै गीतमार्फत बिसाउँछु।’ यो पुरानो भाका र भाषाको संरक्षणमा अरूले चासो नदिए पनि सास रहुन्जेल आफू लागिराख्ने उहाँको प्रण छ।

हे आफै रिङ्दो वियो गाड घट्ट डोलले लैग्यो

हे मर्म सौँराइ थियो चानसले भेट भइगयो

यी गीत खड्काका दिनभरिका दुःख बिसाउने मेलो हुन्। उहाँ आफैँ सर्जक, आफैँ गायक। दैनिक तानमा पाखुरा घोट्ने खड्का लोक तथा डेउडा गायक हुनुहुन्छ। तर उहाँको परिचय गायकमा मात्र सीमित छैन। खड्काबाटै तान चलाउन सिक्नुभएकी मैनकला शाहीका अनुसार उहाँ तान व्यवसायको नायक हुनुहुन्छ। ‘उहाँ त कर्णालीले सम्मान गर्नुपर्ने हीरा हो,’ शाहीको गुनासो छ, ‘कपडा बुन्ने तान उद्योगसँग उहाँको अविछिन्न सम्बन्ध छ। तर कर्णाली सरकारले उहाँलाई चिन्दैन।’

तानसँग २०३५/०३६ बाटै जोडिनुभएका उहाँ आफू मात्रै रोजगारीमा लाग्नुभएन। आफूले सिकेको सीपबाट २८ हजार जनालाई तानसँग कपडा बुन्न र प्रत्यक्ष रोजगारीमा जोड्न सहयोग गर्नुभयो। ‘आफ्नै प्रदेश सम्पन्न बनाउनलाई आफ्नै प्रदेशको उत्पादित चिज उपभोग गर्नुपर्छ भन्ने लाग्छ। यो कुरा व्यवहारमा पनि लागू गरेको छु,’ उहाँ सुनाउनुहुन्छ।

तानको क्षेत्रमा जीवन नै समर्पण गरेका खड्काको सम्बन्ध गीत–संगीतसँग पनि उत्तिकै गहिरो छ। तानसँगै गीत–संगीतलाई अगाडि बढाउँदै लगेका उहाँले कर्णालीमा लुकेका र लोप हुन लागेका भाकालाई भावी पुस्तासम्म बचाएर राख्ने प्रण गर्नुभएको छ।

२०४६ अगावै गीत गुनगुनाउने खड्कालाई ०४६ सालमा गीत रेकर्ड गर्ने हटुहुटी जाग्यो। त्यही हुटहुटीको फेरो समातेर उहाँ काठमाडौँ पुग्नुभयो। ‘लोप भएका तथा लोपोन्मुख भाका समेटेर गीतमार्फत स्रोतामाझ पस्किन चाहन्थेँ,’ शान्त भावनमा उहाँले सुनाउनुभयो, ‘नभन्दै काठमाडौँ गएर गीत रेकर्ड पनि गरेँ र स्रोतालाई सुनाएँ पनि।’

आफूले कला क्षेत्रमा योगदान गरिरहँदा पनि कतै मेला–महोत्सवमा जाँदा भने कलाकारको हैसियतका रूपमा सम्मान नभएको उहाँको गुनासो छ। ‘कतै मेला–महोत्सव हुन्छन्, मन फुरुङ्ग हुन्छ,’ उहाँ गुनासो पोख्नुहुन्छ, ‘आफ्नो सिर्जना दर्शक–स्रोतालाई सुनाउन पाउने आसले महोत्सवनजिक पुग्छु। तर महोत्सवको गेटमै टिकट काट्न लगाउँछन्। टिकट काटेर भित्र पस्छु। अरुले गाएको सुनेर फर्किन्छु । युट्युबमा भाइरल भएका कालाकारहरूलाई आयोजकले मेला महोत्सवमा भित्र्याउँछन् । तर जसले आफ्नो माटो, संस्कृति र सिंगो इतिहास बोकेका हुन्छन्, जो सधैँ गीत–संगीतको साधनामा हुन्छन्, उनीहरू नै ओझेलमा पर्छन्।’

बढ्दो प्रविधिको प्रयोग र आयातित संस्कृतिले हाम्रा मौलिक संस्कृति, चाडपर्व आदिलाई दिनप्रतिदिन लोप बनाउँदै लगेको छ। संस्कृति संरक्षण गर्नतर्फ न सरकारको ध्यान पुगेको छ न महोत्सव आयोजकले नै यसमा ध्यान पु¥याएका छन्।  अर्काको देशको आयातित संस्कृतिभन्दा आफ्नै देशको गर्व गर्न लायक संस्कृतिको जगर्ना गर्दै अघि बढ्नुपर्ने खड्काको भनाइ छ। ‘हाम्रो संस्कृतिले हाम्रै इतिहास बोल्छ,’ उहाँको आग्रह छ, ‘यसकारण आयातितभन्दा हाम्रै इतिहास बोल्ने कला–संस्कृतिको गर्व गर्दै संरक्षणमा लागौँ।”

तानसँगको सम्बन्ध

हिजोआज खड्काको जीवनको पर्याय बनेको छ– तान र गायन। सानै उमेदरदेखि तानसँग साइनो गाँसेका उहाँको जीवन र गन्तव्य देउडा भाकाजस्तो मिठासपूर्ण छैन। लामो समय तानमा बिताउँदा तानको एकान्तले खड्काको मन बहकियो। त्यसपछि तानसँगै गायन क्षेत्रमा उहाँको रुचि बढ्न थाल्यो।  यही रुचिका कारण उहाँले गायन र तानलाई सँगसँगै अघि बढाउनुभयो।

विसं २०३६÷०३७ मा दैलेखबाट सिफारिस भई खड्काले क्षेत्रीय घरेलु उद्योगमा दुई वर्ष तालिम लिनुभयो। त्यो समय स्मरण गर्दै खड्का भन्नुहुन्छ, ‘तालिमपछिको परीक्षामा म पहिलो भएँ। कामप्रति चासो जाग्यो। गरे हुने रहेछ भनेर आफैँले कपडा बुन्न सिकेँ। अहिले सम्झिँदा खुसी लाग्छ।’

सामान्य परिवारमा जन्मिएका खड्काको दैनिक जीवन खान–लगाउनै संघर्ष गर्नुपथ्र्यो। यस्तै, विद्यालय जानुअघि दुई डोका घाँस काट्नुपथ्र्यो। यो सब विचार गरेका उहाँको लक्ष्य सानैदेखि केही न केही सीप सिक्ने र सिकेका सीप अन्य साथीहरूलाई पनि सिकाउने थियो। यो लक्ष्यमा उहाँ अहिले सफल हुनुहुन्छ। ‘करिब २८ हजार जनालाई तान बुन्ने सीप सिकाएँ,’ खड्का गर्विलो स्वरमा सुनाउनुहुन्छ, ‘विसं २०३८/३९ सालबाट सुरु गरेको मैले अहिले पनि निरन्तरता दिएको छु।’

राजाका पालामा सुर्खेतमा तानको अवस्था सामान्य थियो। आवश्यक परेको समयमा सबै कच्चा पदार्थ सुर्खेतमै पाइन्थ्यो। घरेलू शिल्पकला थिए। सानातिना चिजका लागि काठमाडौँ धाउनुपर्दैनथ्यो। तर राजा हटेसँगै अवस्था दुःखदायी अवस्थामा परिवर्तन भयो। ‘राजा हटिसकेपछि अहिले न त कच्चा पदार्थ पाइन्छ न सरकारको सहयोग नै पाएको छु,’ उहाँ दुःख पोख्नुहुन्छ।

राजाका बेला  उत्पादन गरेका कपडा घरेलु शिल्पकला बिक्री भण्डारले खरिद गरिदिन्थे। त्यतिबेला भैरवस्थानमा मात्र ६ वटा उद्योग थिए । २०–२२ वटा तान राखेर चलाइएको थियो। मासिक आम्दानी नै १५ हजारभन्दा बढी हुन्थ्यो। तर अहिले मुस्किलले बिक्री हुने खड्का सुनाउनुहुन्छ।

देशमा उत्पादशिलता बढाउन, रोजागारी सिर्जना र कुल गार्हस्थ्य उत्पादनमा सहयोग पुर्‍याउन पनि सरकारले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ। तर यसो हुन सकेको छैन।

‘पहिले र अहिले तान उद्योगको माग कत्तिको छ ? सरकारले  के गर्नुपर्ला ?’ भन्ने प्रश्नमा खड्का भन्नुहुन्छ, ‘सरकारले कच्चा पदार्थ सुर्खेतमै पाउने वातावरण बनाइदिनुपर्छ। माग बढाउन यहाँका सरकारी तथा गैरसरकारी कर्मचारीलगायत सबैलाई कर्णालीमा उत्पादित कपडा लगाउन अनिवार्य गर्नुपर्छ।’

खड्काका अनुसार सरकारले चाह्यो भने कच्चा पदार्थ सुर्खेतमै उपलब्ध हुन सक्छ। शिल्पकला बिक्री गर्ने कासेलीगृहजस्तो कुनै न कुनै सौगातगृह भयो भने आफ्ना चिज त्यहाँ आइपुग्छन्। सहज पनि हुन्छ। यसले कर्णालीको अर्थतन्त्रलाई पनि धान्छ र कर्णालीमा भएको कच्चा पदार्थको सदुपयोगसमेत हुन्छ।

Comments

Popular posts from this blog

The cry of earthquake victims, "Oh God, don't let the rain come." We don't live after it rains.'

Nature hero Govinda who is involved in wildlife conservation

सबै सन्तानले साथ छोडेकी एक्ली 'राउटे आमा'