जितेन्द्र थापा । दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाको बिचमा पर्ने नाभिस्थान पुग्नेबित्तिकै एउटा फरक दृश्यमा आँखा ठोक्किए। त्यहाँ बालबालिका अस्वभाविक रुपमा रोइकराइ गरिरहेका थिए। उनीहरूलाई फकाइ फुल्याइ गर्ने कोही पनि थिएन।
उनीहरू राउटे समुदायका बालबालिका थिए। बूढापाका र तन्नेरीहरू जङ्गलतिर सिकार खेल्न निस्किएका कारण उनीहरू घरमा एक्लै भएर रोएर बसिरहेका थिए। छिमेकमा केही अधबैँसे राउटे युवा र केही महिला आफू बस्ने झुप्रो बनाउन माटो खन्दै, किला ठोक्दै थिए।
कतिपय राउटे परिवारहरू शिकार खेल्न जाने बेलामा दुधे बालकलाई काखमा च्यापेर निस्कन्छन्। १७ माघ २०७९ मा यस्तो एउटा परिवार छोराछोरीलाई काखमा च्यापेर शिकार गर्न निस्कँदै थियो। ती दुधे बालकहरूदुब्ला र ख्याउटे देखिन्थे।
राउटे समुदायका छोराछोरी स्कुल जादैनन्। दिनभर जङ्गलमा डुल्दै, झुपडीमा खेल्दै उनीहरूको समय बित्छ। उनीहरूको शरीरमा माथितिर एकसरो सेतो रुमालको कपडा जस्तै पहिरन हुन्छ। तल प्राय नाङ्गो हुन्छ। बाबु आमा उनीहरूलाई आफन्तको भरमा छोडेर शिकार खेल्न जङ्गल जान्छन्। सिकार खेल्न र अरु केही कामले बाहिर जानु राउटे परिवारको दिनचर्या हो।
पर्याप्त हेरचाह र पोषणको अभावमा राउटे समुदायका बालबालिका कुपोषण र निमोनियाको जोखिममा छन्। यसरी कुपोषणको उच्च जोखिममा परेका मध्येका एक हुन्, राउटे समुदायकी २८ वर्षीया खम्बगाडे शाहीकी डेढ वर्षीया छोरी सल्ली।
तर, उनी कुपोषित भएको बुबा लालबहादुर शाहीलाई समेत थाहा छैन। लालबहादुर बरु यसरी बिरामी हुँदा देउतालाई बाख्रो बलि दिन्छन्। सन्चो होस भनेर देउतालाई भाकल गर्छन। सबैजसो राउटे परिवारमा उपचार गर्नेभन्दा बिरामी परेमा बस्तीमा बिरामी सन्चो होस भनेर देउतालाई बाख्राकै बलि दिने गर्छन ।
कुपोषणको समस्या लालबहादुरकी छोरीलाई मात्रै नभएर राउटे समुदायका अरु बालबालिकाले पनि भोग्दै आइरहेका छन्। २०७५ भदौमा गुराँस गाउँपालिका–८ की २७ वर्षीया मिहिन शाहीले जुम्ल्याहा सन्तान जन्माइन्। तर उनले ९ दिनमा गङ्गा र १ महिनामा जमुनालाई गुमाउनु पर्यो। सन्तान जन्माएको एक महिना नपुग्दै उनको कोख रित्तियो।
राउटे समुदायको हितमा क्षेत्रमा काम गर्दै आइरहेको गैर सरकारी संस्था ‘सोसेक नेपाल’ का अनुसार गंगा र जमुनाको कुपोषणका कारण मृत्यु भएकोे थियो। पाँच बर्ष पहिले मिहिन शाहीको पहिलो सन्तानको पनि कुपोषणकै कारण मृत्यु भएको थियो। अहिले मिहिनकी एक वर्षकी छोरीछिन्।
शिशु मृत्युदर ५० प्रतिशत
राउटे वस्तीमा शिशु मृत्युदर अचाक्ली छ। २० असोज २०७६ मा एक महिनाकी सरकारी शाहीलेज्यान गुमाइन्। त्यसको दुई महिनापछि स्थानीय सिस्नेरी शाहीले जन्माएको दोस्रो सन्तानकोएक महिनामै ज्यान गयो।
२०७५ साउनदेखि २०७८ मंसिर सम्म यीराउटे परिवार भित्र जम्मा २७ शिशुजन्मिएका थिए। ९ मंसिर २०७८ यता यो बस्तिमागर्भवती महिला छैनन्। यस्तै, शिशु पनि जन्मिएका छैनन्। पछिल्लो झण्डै ५वर्ष भित्रजन्मिएका २७ शिशुुमध्ये १६ जना अहिले जीवित छैनन्।यसले राउटे समुदायमा बालमृत्युदर ५० प्रतिशत छ भन्दा फरक पर्दैन।
सोसेक नेपालका अनुसार, २०७५ साल यता १० जनाले कुपोषणकै कारण ज्यान गुमाएको तथ्यांक छ। यस्तै, ६ जना शिशुको निमोनियाका कारण मृत्यु भएको राउटे समुदायमा कार्यरत अनमी अमृता रोकायाले बताउनुभयो।
अभिभावकले मदिरा सेवन गर्ने तर नवजात शिशुको हेरचाहमा ध्यान नदिने गरेका कारण उनीहरूकोमृत्यु भएको शिक्षक लालबहादुर खत्री बताउनुहुन्छ। ‘राउटेका बालबालिका चिसो भुइँमा सुत्छन्। उनीहरूले पोषणयुक्त खानेकुरा पाएका हुँदैनन्,’ उहाँले भन्नुभयोे, ‘अभिभावक मदिराको लतमा फँस्दा शिशुले हेरचाह नपाएर अकालमै ज्यान गुमाइरहेका छन्।’
राउटे परिवार भित्र मदिरा पिउने चलन बढ्दो क्रममा रहेको वताउने खत्रीले , ‘मदिराले परिवारका वयस्क व्यक्तिको स्वास्थ्य अवस्था पनि बिग्रिँदै गएको छ। बच्चाको त ज्यान नै लिइरहेको छ। अझै पनि यो समुदायमा चेतनाको अभाव छ।’
सोसेक नेपालद्धारा संचालित राउटे परियोजना अन्र्तगत राउटे बस्ति नाभिस्तानमा खटिएकी अनमी अमृता रोकायाले बालबच्चालाई दिनमा ६ देखि ७ पटक दुध चुसाउनुपर्नेमा नियमित स्तनपान समेत नहुँदा कुपोषणका कारण ज्यान गुमाउने बालबालिका धेरै रहेको बताउनुहुन्छ।
‘सरकारले राउटे बालबालिकालाई पोषिलो खानेकुरा खुवाउन चार हजार रुपैया भत्ता दिन्छ,’ उहाँले भन्नुभयो, ‘तर परिवारका सदस्यले सरकारबाट आएको पैसा मदिरा लगायत अन्यत्र खर्च गर्ने भएकाले बालबच्चाले पोषिलो खानेकुरा खान पाउँदैनन्।’
सोसेक नेपालले राउटे समुदायको स्वास्थ्य सुरक्षाका लागिअहेब र अनमी गरि दुई स्वास्थ्यकर्मी खटाएको छ। अहेब लोकेन्द्र शाहीले यो समुदाय बसाइसरेर पुग्ने ठाउँमा आफुहरूले पनि डेरा सर्दै स्वाथ्य जाँचमा खट्नुपर्ने अवस्था रहेका बताउनुभयो।
‘तर पनि राउटे बालबालिकाकोस्वास्थ्यमासुधार हुनुभन्दा झन् कमजोर हुँदै गएको छ,’ शाहीले भन्नुभयो, ‘बालबालिकाको पर्याप्त हेरचाह पाएका छैनन्।’ राउटे बस्तिमा खटिएकी स्वास्थ्यकर्मी अमृता रोकायाका भनाइमा स्वास्थ्यकर्मीले दिएको सल्लाह अनुसार आवश्यक स्वास्थ्य जाँच तथा हेरचाह नगर्दा बालबालिकाले कुपोषण र निमोनिया सामना गर्नु परिरहेको छ।
अनमी रोकाया अन्यत्र महिना पुगेपछि मात्र अन्न खुवाउने चलन भए पनि राउटे समुदायमा जन्मेको एक हप्ता पुगेपछि आफुले खाएको भातगिलो पारेर चटाइदिने चलन रहेको बताउनुहुन्छ। ‘बालबालिका हुर्केर खाना खान सक्ने भइसक्दा पनि फलफुल खुवाउनु हुँदैन भन्छन्,’ उहाँले भन्नुभयो्, ‘हामीले दिएको ल्याक्टोजीन पनि खुवाउन मान्दैनन्।’
राउटे समुदायका व्यक्तिले प्राय बाहिरिका मान्छेले दिएको खानेकुरा खान मान्दैनन्। त्यसैकारण आफुहरूले दिएको औषधी तथा पोषणसम्बन्धीखानेकुरा खान नमान्ने रोकायाको बुझाइ छ।
‘बिहानै काममा निस्केका राउटे दम्पती समयमा घर फर्कीदैनन्। भर्खर जन्मेका शिशु दुध खान नपाएर तडपिएको हुन्छ,’ राउटे बस्तीमा खटिएका शिक्षक लालबहादुर खत्री भन्छन ‘समयमै घर फर्किनु भनेर सम्झाउँदा पनि मान्दैनन्।’ उनका भनाइमा प्राय राउेटेका श्रीमतीहरू माग्न र कुरा गर्न सिपालु हुन्छन् भनेर श्रीमान्ले बाहिर जाँदा सँगै लैजाने गर्छन।
अर्को कुरा राउटे समुदायका व्यक्तिहरूस्वास्थ्य उपचारमा निकै कम विश्वास गर्छन। तुलनात्मक रुपमापछिल्ला दिनहरूमा उपचार गर्नेहरू बढे पनि गर्भवती अवस्थामा र अन्य चोटपटक लाग्दा समेतअस्पताल नलैजाने चलन अहिले पनि छ।
राउटे समुदायका महामुखिया मैनबहादुर शाहीका भनाइमा यो समुदायका गर्भवतीले खोला, खोल्सार,कसैले नदेख्ने ठाउँमा गएर बच्चा जन्माउनु पर्छ।‘बच्चा जन्मिने ठाउँमा कोहि जान मिल्दैन। घरमा जन्माउनु हुँदैन’, उहाँले भन्नुभयोे, ‘जन्मेको तीन दिनपुगेपछिछिमेकका प्रत्येकघरघरमा डुलाएर शुद्ध पार्नुपर्छ।’ शाहीका भनाइले पनि आमा र बच्चा कति जोखिममा हुन्छन् भन्ने देखाउँछ।
खुम्चिदै राउटेको जनसंख्या
जङ्गलमा घुम्दै,फिर्दै घुमन्ते जीवन बिताउने राउटे समुदायको छुट्टै संसार थियो। यो समुदायले बाँदरको शिकार, कन्दमुललगायत जंगलमै उत्पादन हुने फलफूल खाएर जीविकोपार्जन गर्थे। आफ्नै राजा, आफ्नै सरकारको नीतीभित्र बाँच्ने राउटे समुदाय आम पहिचान थियो।
उनीहरू जङ्गलमा काठका भाँडाकुडा उत्पादन गरेर नजिकका गाउँहरूमा अन्नसँग साट्दै आत्मनिर्भर हुन्थे। आफ्नै चालचलन र रितीथितीमा चलेका थिए उनीहरू।तर, घुमन्ते जातीको रुपमापरिचय बनाएको राउटे समुदाय पछिल्लो समय सङ्कटमा छ।
यो समुदायक्रमशः सरकारले गरेको पहल र नागरिकको बढ्दो चेतनाले गर्दासमाजको निकट बस्न थालेको छ। उनीहरूसमाजमा घुलमिल हुन थालेका छन्। समाजको नजिकै बस्दा उनीहरूको घरधुरी र पारिवारकोसंख्या अन्य आम मान्छेजस्तै बढ्नु पर्नेमा उल्टै घट्दै गइरहेको छ।
२०६८ सालको जनगणना अनुसार नेपालमा कुल ६ सय १८ जना राउटेको बसोबास थियो। तर २०७८ को जनगणना अनुसार यो समुदायको कुल घरधुरी संख्या ४६ छ। राउटेको संख्या अहिले१ सय ४३ मा झरेकोछ।
पछिल्लो समय राउटेहरूकमजोर र रोगी बन्दै गइरहेका छन्। जंगलबाटसमाजसँग नजिकिएर बस्न थालेपछि उनीहरू मदिराको लतमा फस्न थालेका छन्। यसले उनीहरूको स्वास्थ्यमा प्रतिकुल असर पार्न थालेको चामुन्डा बिन्द्रासैनी नगरपालिकाका पूर्व मेयर सुर्यबहादुर शाही बताउनुहुन्छ।
‘उबेलाका हठ्ठाकठ्ठा र बलिया राउटे अहिले पैसा र मदिराको लतमा फस्न थालेकाले कमजोर हुँदै गइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘आधुनिकतामा होम्मिएसँगै उनीहरूको मृत्युदर बढ्दै गएको छ। उनीहरूको पेशा नै सङ्कटमा पर्न थालेको छ।’
अन्धविश्वासले जीवन सङ्कटमा
बच्चा जन्मेको ४८ घण्टादेखि एक महिनासम्म न्यानोमा राख्नुपर्छ। यस्तै, आमाको छातीमा टाँसेर स्तनपान गराइरहनु पर्छ। तर यसका लागि आमालाई पर्याप्त पोषण पुगेको हुनुपर्ने जनस्वास्थ्यविद् अरुणा उप्रेतीले बताउनुहुन्छ।
‘यदि बच्चा जन्मिने बित्तिकै तातो पारेर राखिएन, बच्चालाई तुरुन्त दुध चुसाइएन र चिसोमा राखियो भने मृत्यु हुने सम्भावना रहन्छ,’ उहाँले भन्नुभयो, ‘आमा गर्भवती हुँदादेखि नै टिटानस र धनुष्टकार बिरुद्धको खोप नलगाएमा नालसाल काट्दादेखि नै धनुष्टंकार भएर ज्यान जान सक्छ। अस्पताल नै जान नमान्ने भएकोलेराउटेहरू यसको उच्च जोखिममा छन्।’
डा. उप्रेतीका भनाइमाआमा कुपोषित भएमा कम तौल भएको बच्चा जन्मिने सम्भावना रहन्छ। यस्तै, आमामा रगतको कमी भए जन्मिने शिशुमा पनि त्यसको असर पर्ने र गर्भवतीमा कुपोषणको समस्या भएमा भ्रुण पनि कुपोषित हुने उहाँले बताउनुभयो।
दुई किलो पाँच सय ग्राम भन्दा कम तौलका शिशुहरू जन्मिदा कुपोषित भएरै जन्मिने उनको भनाई छ। ‘त्यस्ताबच्चालाई बचाउन एकदमै गाह्रो हुन्छ,’ उहाँले भन्नुभयो, ‘नौ महिनाको समय भन्दा अघि नै जन्मने शिशुको छाती राम्ररी बनिनसकेको हुनाले कुपोषणको सम्भावना रहन्छ।’
निमोनिया भएका बालबालिकालाई ज्वरो आउने, खान मन नलाग्ने, दुध चुस्न नमान्ने जस्ता समस्याका कारण उनीहरू कुपोषित हुने गरेको डा.उप्रेतीले बताउनुभयो। ‘त्यसैले बच्चा जन्मेपछि आमालाई पर्याप्त भोजन र शिशुलाई आमाको दुध अत्यावश्यक हुन्छ,’ उहाँले भन्नुभयो।
सरकारले राउटे समुदायलाई जीवन निर्वाहका लागि भत्ता उपलब्ध गराउँदै आएको छ। जीवन निर्वाहको लागि प्रत्येक घरका लागि चारहजारका दरले भत्ता दिदै आएको गुराँस गाउँपालिकाकासामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख चेतन खड्काले बताउनुभयो। तर, गाउँपालिकाकाले बालबालिकाको लागि भनेर पोषणमा छुट्टै बजेट भने छुट्याउने निर्णय गरेको छैन।
शिशुले जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार भए पनि राउटे बस्तीमा भने एक हप्तामै गिलो भात पकाएर बच्चालाई चटाउने परम्परा रहेको अनमी अमृता रोकाया बताउनुहुन्छ। तर बच्चा जन्मेको एक हप्तामै उनीहरूको पेटले पचाउन नसक्ने जनस्वास्थ्यविद् डा.उप्रेतीको भनाई छ। ‘बच्चालाई तीनदेखि चार महिनासम्म आमाको दुध बाहेक अन्य कुनै खानेकुरा खुवाउन मिल्दैन’, उहाँले भन्नुभयो।
त्यस्तै,प्रदेश अस्पताल कालागाउँ सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीका अनुसार बारम्बार निमोनिया भइरह्यो भने त्यसले बालबालिकालाई कुपोषित बनाउने सम्भावना रहन्छ। ‘एकपटक निमोनिया भएका बालबालिकाको शरिरमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति, प्रोटिन र भिटामिनको कम हुन्छ,’ डा. केसीले भन्नुभयोे,‘प्रोटिन हुने खानेकुरा अण्डा, मासु, फलफुल बालबालिकालाई राम्रोसँग खुवाइएन भने पनि शरिरमा पोषण पुग्दैन।’
डा. केसीले भन्नुभयोे, ‘ज्वरो आएका बेला माछा, मासु, अण्डा खान नदिने गलत चलनले गर्दा यस्तो अवस्थामा बच्चालाई झनै गाह्रो हुन्छ,’ उनका भनाइमा,‘कडा निमोनिया भएका बालबालिकालाई दुईदेखि तीन महिनासम्म खानमन नलाग्ने समस्या हुने भएकाले उनीहरूलाई कुपोषण हुन सक्ने जोखिम रहन्छ।’
राउटे समुदायका बालबालिकाहरूले पोषिला खानेकुरा नपाउने,निमोनिया भएका बालबालिकाले पाँच/सात दिनसम्म उपचार नपाएर फोक्सो र मुटुमा पानी जम्ने र पुरै शरीरमा फैलिने जोखिम रहने डा. केसीले बताउनुभयो।
‘बिरामी हुँदा फुक्न लाने, देउता लाग्यो भन्ने जस्ता अन्धविश्वास पालेर बस्ने तर औषधीसेवन नगर्ने चलनले उनीहरूको अकालमा ज्यान गइरहेको छ,’ उहाँले भन्नुभयोे।
राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश प्रमुख लोकनाथ बाँस्तोलाले राउटे नागरिकको जीवनरक्षालाई सरकारले प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो। जीवनरक्षालाई प्राथमिकतामा राखेर उनीहरूको भाषा, भेषभूषा, संस्कृतिको रक्षामा जोड दिनुपर्ने बाँस्तोलाको भनाइ छ।
‘राउटे समुदायमा सरसफाइको अवस्था नाजुक छ। मदिरा प्रयोगको स्थास्थ अवस्था दयनीय बनाएको छ,’ उहाँले भन्नुभयोे, ‘सरसफाइका लागि उनीहरूमा सचेतना बढाउन जरुरी छ। मदिराको प्रयोगलाई त तत्कालै रोक्नुपर्छ।’ बास्तोलाले मदिराको अधिक प्रयोग रोक्न नसके राउटे समुदायको अस्तित्व नै सखाप हुन सक्ने खतरा बढेको चेतावनी दिनुभयो।
सरकारको लगानी घट्दै
राउटे समुदायमा समस्या बढ्दै गए पनि उनीहरूका पक्षमा सरकारी लगानी भने घटदै गएको छ। २०७८ सालमा कर्णाली प्रदशको सामाजिक विकास मन्त्रालयले लोपउन्मोख जाती राउटे समुदायको संरक्षण र सम्वद्र्धन गर्न भन्दै एकीकृत नीति ल्याउने योजना बनाएको थियो। तर योअहिलेसम्म पनि योजनामै सिमित छ। सामाजिक विकास मन्त्रालयको महिला तथा बालबालिका महाशाखा प्रमुख अनिता ज्ञवालीले नीतिको प्रारम्भिक मस्यौदा तयार पारिसकेको र विज्ञको सुझाव लिने काम भइरहेको बताउनुभयो।
प्रदेश सरकारले राउटेको मुल प्रवाहिकरण गर्न भनेर बजेट छुट्याए पनिसमुदाय भने सङ्कटमा पर्दै आएको छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार राउटेको मुल प्रवाहिकरणका लागि आर्थीक वर्ष २०७५\०७६ देखि २०७८\०७९ मा झण्डै एक करोड रुपैया छुट्याइएको छ।
योमध्ये आर्थिक वर्ष २०७५\०७६ मा छुट्याइएको २० लाख रुपैया बजेटमा चार लाख खाद्यान्न, बसाई व्यवस्थापन, र लत्ताकपडामा खर्च भएकोे मन्त्रालयको महिला तथा बालबालिका महाशाखा प्रमुख ज्ञवालीले बताउनुभयो ।
यस्तै, आर्थिक वर्ष २०७६\०७७ मा ५० लाख छुट्याइएको दुई लाख, २०७७\०७८ मा २० लाख छुट्याइएकोमा एक लाख ५० हजार र २०७८\०७९ मा नौ लाख छुट्याइएकोमा चार लाख मात्रै खर्च भएको मन्त्रालयको तथ्यांक छ। आर्थिक वर्ष २०७९\०८० मा राउटे समुदायका लागि सरकारले बजेट छुट्याएको छैन।
राउटे पछिल्लो समयको घुमन्ते आदिवासी जनजातिसमुदाय हो। तत्कालीन सशस्त्र द्वन्द्वपछि उनीहरू जङ्गल छाडेर अन्य समुदायको बस्ती नजिक बस्न थाले। अहिले उनीहरू धेरैजसोतथा बजार क्षेत्र आसपास बस्न थालेका छन्। मदिराको लतमा फसेर उनीहरूको स्वास्थ्यमा प्रतिकुल असर देखिन थालेको छ।
तीनै तहको सरकारले उनीहरूको संरक्षणका लागि मदिराको लत हटाउन आवश्यक भएको अधिकारकर्मी हिरासिंह थापा बताउनुहुन्छ। ‘कुलतको लत हटाउन चेतनामुलक कार्यक्रम संञ्चालन गर्नुपर्छ,’ थापाले भन्नुभयो, ‘उनीहरूको बासस्थान वरपर प्रशासनले मदिरा बिक्रि वितरणमा रोक पनि लगाउनुपर्छ।’
थापाको भनाइमा,‘सरकारले राउटे समुदायका हरेक व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वापत चार हजार रुपैया नगद दिनुको सट्टा उनीहरूलाई काठका भाडा बनाउन चाहिने सामग्री खरिद गरि दिने र परिवारका सदस्यलाई आवश्यक खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराउने तर्फ ध्यान दिए समुदायमा यो लगानीको फाइदा पुग्ने थियो।’
0 Comments